व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन: बिजुक्छे

काठमाण्डौः ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् ।

उनले व्यवस्थापन गतिलो नहुँंदा देशको विकासले गति लिन नसकेको बताए । मोहियानी हक नदिइ कमैयाँ मुक्त गर्दा कमैयाहरूले खान नपाई फेरि कमैया नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँंदै उनले सरकारमा बसेकाहरूले व्यवस्थापन नबुझ्दा यो समस्या पटकपटक आउने गरेको उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा. रामकमार फुयाँल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वबारे चर्चा गरे ।

आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुईवटा टेक्निकल सेसन हुने बताए । दोस्राे दिन चारवटा टेक्निकल सेसन हुने उनकाे भनाइ छ ।

पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. ध्रुवकुमार गौतम र डा। रामकुमार फुयाँल र दोस्राे दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएकाे छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भएको दोश्रो राष्ट्रिय सम्मेलन सोमबार भक्तपुरमा सकिएको छ।

सम्मेलनमा समापन कार्यक्रममा वोल्दै प्रदेश सांसद सृजना सैंजूले त्रिभुवन विश्वविद्यालयमा रिसर्च भताभुंग भइरहेको अवस्थामा एउटा कलेजले गरेको यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताइन्। उनले दुई दिने सम्मेलनले मुलुकको आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइन्।

दुई दिने सम्मेलनको क्रममा विभिन्न ६ जना विशिष्ट व्यक्तिहरुले कि नोट दिएका थिए। पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँलले कि नोट दिए। सोमबार दोश्रो तथा अन्तिम दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापाले कि नोट दिए। साथै ४० भन्दा वढीले कार्यपत्र प्रस्तुत गरे।

आयोजक कलेजका प्राचार्य रुपक जोशीले अनुसन्धानलाई कलेजले जोड दिंदै आएको बताए। यही अनुसार प्रत्येक वर्ष सम्मेलन गर्दै जाने योजना रहेको उनले सुनाए। केही समयपछि नै विश्वविद्यालय अनुदान आयोगकै सहयोगमा अर्काे अनुसन्धानसम्बन्धी कार्यक्रम गर्न लागेको उनले जानकारी गराए।

यसअघि २०७६ सालमा कलेजले पहिलो सम्मेलन गरेको थियो। त्यसपछि २०७८ सालमा सम्मेलन गर्ने मिति तय भएको थियो। तर बीचमा कोभिड भएकोले त्यो कार्यक्रम स्थगित भएको थियो। यही स्थगित भएको सम्मेलन अहिले सम्पन्न भएको हो।

सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन भए। दोश्रो दिन चार वटा टेक्निकल सेसन भए। सम्मेलनको क्रममा आयोजक ख्वप कलेज, बागीश्वरी कलेज, भक्तपुर बहुमखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मेगा कलेज, क्वेष्ट इन्टरनेशनल कलेज, युनिग्लोब कलेजलगायतका विभिन्न कलेजबाट सहभागी अनुसन्धानकर्ताहरुले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए।

अन्तिम दिन भएको समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य एवं कलेज रहेको भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष डा हरिराम सुवाल, कलेज व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ख्वप कलेजका प्राचार्य रुपक जोशी, उपप्राचार्य डा राजेशकुमार श्रेष्ठलगायतले सम्मेलनले देशको अर्थ व्यवस्थापनमा सहयोग मिल्ने विश्वास लिए।

कार्यक्रममा कार्यक्रम संयोजक सुनिल सुवालले समापन कार्यक्रमअघि दुई दिनको सम्मेलनको छोटकरीमा जानकारी गराएका थिए। यसअघि सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए।